काठमाडौँ — सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब रुपैयाँ निकासा गरेको छ। अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि आज मात्रै रु ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरिएको हो।

अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णय भएको छ।”

नेपाल राष्ट्र बैंकले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सरकारबाट पाउन सकेको थिएन। अर्थमन्त्रालयको भनाइमा यो रकम निकासा भएपछि कर्जा विस्तारमा सहजता आउने अपेक्षा गरिएको छ।

सहुलियतपूर्ण कर्जा ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार कृषि तथा पशुपन्छी कर्जामा अधिकतम रु ५ करोड, महिला उद्यमशीलता र स्टार्टअप उद्यम कर्जामा रु २५ लाख, वैदेशिक रोजगारीबाट फर्किएका र शिक्षित युवा परियोजनामा रु २० लाख र प्राकृतिक विपद् पीडितको निजी आवास निर्माणमा रु ५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था छ। यस्ता कर्जामा लाग्ने ब्याज भुक्तानीको भार सरकारले अनुदानमार्फत वहन गर्दै आएको छ।