काठमाडौं — आइतबार पितृपक्ष (सोह्र श्राद्ध) सकिँदैछ र सोमबारबाट दसैं प्रारम्भ हुँदैछ। सोमबार घटस्थापना हो। दसैं सुरु हुनुअघि मौसम केही उघ्रिएको छ।
देशभर मनसुन कमजोर हुँदा कतैकतै घाम लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने कोशी र मधेसमा वर्षा भएको छैन।
मौसमविद् विनोद पोखरेलका अनुसार घटस्थापनादेखि फूलपातीसम्म मनसुन खासै सक्रिय हुने सम्भावना छैन। यद्यपि साँझ र राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
‘घटस्थापनादेखि एक सातासम्म मौसम स्थिर रहने देखिन्छ, तर साँझ बेलुका केही ठाउँमा वर्षा हुनसक्छ,’ पोखरेलले भने।
फूलपातीदेखि टीकासम्म भने मनसुन फेरि सक्रिय हुने र नेपालभर हिले दसैं हुने सम्भावना धेरै रहेको उनको भनाइ छ। अघिल्लो वर्ष १२ अक्टोबरमा मनसुन बाहिरिएकोमा यसपटक अझै दुई हप्तापछि मात्रै बाहिरिने प्रारम्भिक आकलन गरिएको छ।



















