काठमाडौं—हामी नेपालका संयोजक तथा जेन–जि अभियान्ता सुदन गुरुङले संविधान खारेजको मागबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले संविधान खारेजको माग जनताबाट व्यापक रूपमा आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो ठूलो निर्णय गर्न नसक्ने बताए।
गुरुङले भने, “धेरै जनताको माग छ। म एक्लै केही गर्न सक्दिन। संविधान खारेज गर्ने कि नगर्ने? गर्यो भने के हुन्छ, हुँदैन?”
उनले लिम्पियाँधुरा नेपालको अविभाज्य भूभाग भएको सबैलाई थाहा भए पनि संविधान खारेजको माग तत्काल अघि नबढाएको स्पष्ट पारे। “संविधान खारेज गरे हाम्रो लिम्पियाँधुरा जाने सम्भावना रहन्छ भन्ने बुझेर माग अघि बढाइनँ,” गुरुङको भनाइ थियो।
उनले काठमाडौं–केन्द्रित सोच मात्रै लिएर निर्णय गर्न नमिल्ने उल्लेख गर्दै सुदूरपश्चिमदेखि पूर्वसम्म सबै क्षेत्रको हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने बताए। गुरुङले देशलाई जोगाउनकै लागि संविधान खारेजको माग नगरेको दोहोर्याए।




















