काठमाडौं—स्वास्थ्य मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरिएको भए पनि उनको नियुक्ति तत्कालका लागि रोकिएको छ।

मन्त्रालयमा ६ महिनाभन्दा बढी हाजिर नगरेको, महानिर्देशक हुँदा म्यामोग्राम मेसिन नआउँदै बक्सा मात्र बुझेर रकम भुक्तानी गरेको, खरिदसम्बन्धी अन्य फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको र ११ औं तहमा नियुक्तिका बेला कागजपत्र किर्ते गरेको विवाद बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम सूचिबाट हटाउने निर्णय गरेकी हुन्।

स्रोतका अनुसार यी सबै घटनालाई मन्त्रालयलाई दिएको धोका मानिँदै उनको मन्त्री नियुक्ति प्रक्रिया रोकिएको हो।

प्रधानमन्त्री कार्कीले आइतबार मिश्रासहित पाँच जनाको नाम मन्त्रीको सिफारिससहित राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्। तर अख्तियारले मिश्राविरुद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको र मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीलाई सूचित गरेपछि आज पुनः संशोधित सूची पठाउँदै मिश्राको नाम हटाइएको हो।

प्रधानमन्त्री कार्कीले हिजो पठाएको सूचीमा मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियारको नाम पठाएकी थिइन्। संशोधित सूचीमा भने चार मन्त्रीको मात्र नाम बाँकी रहेको छ।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रीहरूको शपथग्रहण आज दिउँसो २ बजेका लागि तय गरिएको छ।