काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीका सदस्यहरूको सहभागिता रहेको पुष्टि गरेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, “पार्टीको झण्डा बोकेर नभए पनि हाम्रा सदस्यहरू आन्दोलनमा सहभागी भएका थिए। सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्की, कान्तिशिखा लगायतका सदस्यहरू आन्दोलनमा सक्रिय थिए।”

उनका अनुसार जेनजी आन्दोलनमा अन्य दलको तुलनामा रास्वपाका कार्यकर्ताको सहभागिता बढी थियो। “हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ,” उनले भने, “तर हामीले कतै पनि यो राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो भन्ने दाबी गरेका छैनौँ।”

झाले भदौ २३ गतेको आन्दोलनमा पार्टीका सदस्यको उपस्थिति स्वीकार गरे पनि भदौ २४ गतेको आगजनी र तोडफोडमा पार्टीको कुनै भूमिका नभएको स्पष्ट पारे। उनले भने, “२४ गते भएको लुटपाट र आगजनी हाम्रो सिद्धान्तविपरीत छ। त्यस घटनाको निष्पक्ष छानबिन हुनुपर्छ।”