काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्दै जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही नगरेकोप्रति असन्तोष प्रकट गरेका छन्।

बालेननिकट स्रोतका अनुसार उनी बुधबार बिहान बालुवाटार पुगेका थिए। भेटमा प्रधानमन्त्री कार्कीले ‘बाहिरको माहोल के छ?’ भन्दै जिज्ञासा राखेकी थिइन्।

बालेनले भदौ २३ गतेको जेनजी प्रदर्शनमा गोली चलाउने र आदेश दिनेहरूलाई अहिलेसम्म पक्राउ नगरेकोप्रति प्रश्न उठाउँदै तत्काल कारबाहीको माग गरेका थिए। उनले भने, “सरकार गठन भएको यतिका दिन भइसक्यो, गोली चलाउने र आदेश दिनेहरू कहाँ छन्? किन पक्राउ भएनन्? पीडित परिवारहरूले पनि प्रश्न उठाइरहेका छन्, कारबाही नभए असन्तोष बढ्छ।”

प्रधानमन्त्री कार्कीले यस विषयलाई गम्भीर रूपमा लिएको बताउँदै प्रतिक्रिया दिइन्, “अत्याचार गर्ने, शक्तिको दुरुपयोग गर्ने कसैले उन्मुक्ति पाउँदैन। उन्मुक्ति दिने कुरै छैन।”

स्रोतका अनुसार बालेन र प्रधानमन्त्रीबीच करिब आधा घण्टा कुराकानी भएको र आन्दोलनका मागहरू सम्बोधनबारे थप छलफल भएको छ।