- भीमज्वाला राई ✍
दशैं मनाउन काठमाण्डौं छाडेर घर जानेहरुको संख्या अधिक छ । विद्यालय र सरकारी कार्यालयहरु विदा भइसकेपछि यो संख्यामा थामिनसक्नुछ । प्रत्येक दिन करिव १९ हजार सवारीसाधनहरु काठमाण्डौ उपत्यकाबाटं बाहिर गइरहेकाछन् । यो हिसवाले हेर्दा दैनिक सरदर दुईलाख यात्रुहरुले उपत्यका छाडिरहेकाछन् । असोज १६ गते विजया दशमीसम्म करिव २५ लाख यात्रुहरुले उपत्यका छाड्ने अनुमान गरिएको छ । तर यही तथ्यलाई आधार मान्नेहो भने सम्भव देखिदैन ।
बाटो इजाजत (रुट पर्मिट) खुल्ला भएपनि सडक उस्तै
सरकारले घटस्थापनादेखि जुनसुकै रुटमा सवारीसाधनहरु सञ्चालनका लागि बाटो इजाजतपत्र (रुट पर्मिट) खुल्ला गरेको छ । निर्णयसंगै सवारीसाधन चलाउन खुल्ला त गरियो तर सडकहरुको अवस्था ठिक छैन । काठमाण्डौं उपत्यकाबाट बाहिरिने करिव दुइदर्जन सडकहरु बाढी, पहिरो, नियमित मर्मत र विस्तार नभएका कारण प्राय जिर्ण बनेकाछन् । काठमाण्डौंबाट बाहिरिने सडकहरु नागढुङगा नाका, साँगा नाका, बल्खु नाका, साँखु नाका, टोखा नाका, बालाजु नाका, भीमढुङगा नाका, चापागाउँ नाका र अन्य छोटो रुटका नाकाहरु सहजै यात्रा गर्ने अवस्थाका छैनन् ।
सडकले थेग्न नसकेको सवारीको चाप:
कोशी प्रदेश, बागमती प्रदेशका पहाडी जिल्लाहरु र मधेश प्रदेशका केही जिल्लाहरु जोड्ने बीपी राजमार्ग, अरनिको राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु दिवा सेवाहरु करिव २ हजार ५ सय साना मझौला सवारीसाधनहरु छन्, अरनिको राजमार्गमा मात्रै १ हजार ५ सय सवारीसाधनहरु छन् त्यस्तै पूर्व चल्ने रात्री सेवामा करिव ४ सय ५० ठूला बसहरु सञ्चालनमा छन् । उत्तिकै निजी सवारीसाधनहरु यही सडक भएर गुड्नेहुँदा काभ्रेको बनेपादेखि सिन्धुलीको खुर्कोटसम्म नियमित ट्राफिक जाम भइरहेको छ ।
त्यसैगरी त्रिभूवन राजपथ, कान्ति लोकमार्ग र फाखेल दक्षिणकाली हुँदै बाहिरिने सडकको हालत पनि उस्तै छ घन्टौं जाममा बस्नुपर्ने अवस्था छ । त्यस सडकमा करिव १ हजार ५ सय साना मझौला सवारीसाधनहरु नियमिति चलिरहेकाछन् । जसले हेटौँडा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी सम्मका जनतालाई सेवा प्रवाह गर्दछ ।
पृथ्वी राजमार्ग हुँदै पोखरा चल्ने करिव ४ सय र मुग्लिङ नारायणगढ हुँदै महेन्द्रनगरसम्मका रात्री सेवा ७ सय र अन्य साना करिव २ सयको हाराहारीमा रहेका सवारीसाधनहरुको पीडा पनि उस्तैछ । मुख्यद्धार मानिने यस सडक लामोसमयदेखि मर्मत भइरहेको र निर्माणमा ढिलाईले वर्षौदेखि यस रुटमा सबैले सास्ती खेप्दै आइरहेको अवस्था छ । त्यस्तै पासाङल्यामु सडकमा सञ्चालित करिव २ सयको हाराहारीमा सवारीसाधनहरुको कथा वर्षौदेखि दुःखदायी छ ।
अन्य समयमा समेत प्रत्येक दिन काठमाण्डौंबाट करिव ७ हजार ५ सय सवारीसाधनहरु बाहिरिने ति सडकहरुमा दसैंको समय दोब्बर बढी हुने गरेको छ ।
झस्काई रहने तुइनखोला पहिरो
असोज ३ गते साँझ साढे ६ बजेदेखि असोज ९ गते राती साढे १० बजेसम्मको १ सय ६८ घण्टामा १ सय ५ घण्टा सडक बन्द भयो । मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइनखोला पुल छेउमा असोज ३ गते असोज ७ गते र १० गते समेत गरि तीन पटक पहिरो खस्यो । पहिरो पन्छाएर यातायात आवागत सुचारु त भएको छ तर, फेरी कतिबेला पहिरो खस्छ भन्ने त्रास कायमैछ । मनसुनी प्रभाव कायमै रहेकाले पहिरोसंगै बाढीको समेत उत्तिकै जोखिम छ ।
वैकल्पिक सडकहरु पनि सुरक्षित छैन:
पृथ्वी राजमार्गसंगै खुर्कोट सिन्धुली सडकको काभ्रेको रोशीदेखि नेपालथोकसम्मको सडक पूर्ण रुपमा क्षतविक्षत छ । खोलाको तीर र अप्ठ्यारो भीरको बाटोबाट जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ । यदी अघिल्लो वर्षको जस्तै वर्षा हुने हो भने पूर्ण रुपमा बन्द हुनेछ । यदी दुवै मुख्य सडक अवरुद्ध भएको अवस्थामा सरकारले वैकल्पिक मार्ग भनेर बुटवल पोखरा मुग्लिङ सडक (२ सय ४७ किलोमिटर), नवलपुरको गैंडाकोटबाट रामपुर पोखरा र मुग्लिङ सडक (२ सय ६२ किलोमिटर), त्रिभूवन राजपथ हेटौंडा नौबिसे सडक (१ सय ३२ किलोमिटर) हेटौडाबाट भट्टेडाँडा हुँदै ललितपुरको चापागाउँदोबाटो निस्कने सडक (९५ किलोमिटर) र हेटौंडाबाट फाखेल हुँदै बलखु जोडिने (८२ किलिोमिटर) सडक रहेका छन् ।
सरकारले भनेका यी सडकहरु समेत सुक्षित छैनन, यस रुटहरुमा ठुला सवारीसाधनहरु चल्नसक्ने अवस्थाका छैनन् । चाडबाड र विपद्का बेला यात्रुहरुको चाप र सवारीसाधनको चापलाई थेग्न सक्ने अवस्था यि सडकहरुको छैन । अधिकांश सडकहरु कृषि सडकहरु हुन् जो उचित मर्मत सम्हारको अभावमा आफै जिर्ण बनेकाछन् ।
दसैं, दसैं जस्तो भएन:
बाढी, पहिरो र जेन जी आन्दोलनको असर यस पटकको दसैंमा प्रत्येक्ष परेको छ । यातायात श्रमिकहरुको दशैं खल्लो बनायो, यात्रुहरु कतिपय घर जान पाएनन् दसैं लक्षित व्यवसायीहरुलाई निरास बनायो । देशभरीका साढे ११ लाख यातायात श्रमिकहरु प्रभावित बनेकाछन् । देशभरीका करिव ४ लाख यातायात व्यवसायीहरु मारमा परेकाछन् । सार्वजनिक सवारीसाधन चढ्नुहोस् भन्ने आह्वान गर्ने यातायात व्यवसायीहरुको संस्था नेपाल यातायात स्ववसायी राष्ट्रिय महासंघले समेत अत्यावश्यक बाहेक यात्रामा ननिस्कनुहोला भन्ने सन्देश प्रवाह गर्नु पर्यो ।
सरकारका तत्कालिन र दिर्घकालिन काम
तत्कालिन काम:
(क) उपत्यकाबाट बाहिरिने मुख्य सडकहरुका सम्भावित जोखिमहरुको पहिचान गर्नु पर्छ । आइपर्ने विपद्काबेला तत्काल एक्शन गर्ने गरी संयन्त्र निर्माण गर्नुपर्छ । त्यस्ता संयन्त्रहरुलाई चौबिसै घण्टा एलर्ट राख्नु पर्छ ।
(ख) मुख्य सडक र वैकल्पिक सडकहरुको अप्ठ्यारा र जोखिमयुक्त सडकहरुमा सडक मर्मतका उपकरणहरु (लोडर, एक्जाभेटर लगायत) परिचालन गरिरहनु पर्दछ ।
(ग) एकतर्फि सडक, साँघुरा सडक, चोक, मोड र पहिरो गएका स्थानहरुमा ट्राफिक प्रहरीहरुलाई तैनाथ गराउनु पर्छ ।
(घ) सडकको अवस्था बारे जानकारीका लागि सूचना प्रणालीको प्रभावकारी प्रवाह गर्नु पर्छ ।
दिर्घकालिन कामहरु:
(क) तराइ जोड्ने फास्ट ट्र्याकको कामलाई तिव्रता दिँदै चाँडै सम्पन्न गर्नु पर्छ ।
(ख) सरकारले वैकल्पिक भनेका सडकहरु जस्तै फाखेल हुँदै हेटौँडा जोड्ने सडक, चापागाउँ हुँदै भट्टेडाँडा भएर हेटौँडा जोड्ने कान्तिराजपथ, नौबिसे हुँदै हेटौँडा जोड्ने त्रिभूवन राजपथ लगायतलाई बिस्तार गर्नुपर्छ ।
(ग) कुलेखानी भीमफेदी सुरुङमार्ग निर्माण गर्नुपर्छ ।
(घ) अघिल्लो वर्ष बाढीले बगाएको बीपी राजमार्गलाई तत्काल निर्माण गर्नुपर्छ । खुर्कोट सिन्धुली सुरुङमार्ग निर्माण गर्नुपर्छ ।
(ङ) नेपाललाई दक्षिण एसियाली मुलुकहरु म्यानमार, बंगलादेश, भारत, पाकिस्तान हुँदै इरानसम्म जोड्ने एसियन हाइवे अन्तर्गत मेची महाकालीसम्मका सडकलाई चाँडो निर्माण सम्पन्न गर्नुपर्छ ।
(च) मुख्य सहरहरुमा फ्लाइओभर, ओभरपास लगायत सडकलाई चौडा बनाउनु पर्छ ।
यातायात मजदुर र व्यवसायीका प्रतिवद्धताहरु:
सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउने, सुरक्षित बनाउने, भरपर्दो बनाउने, विश्वसनिय बनाउने र मर्यादित बनाउन चालक, सह चालक, परिचालक, बुकिङ र व्यवसायीहरुले निम्न कामहरु गर्नुपर्छ ।
(१)यात्रु तानातान र अनावश्यक सोधीखोजी नगर्ने: जनता सचेत भइसकेकाछन् वहाँहरु हाम्रै सवारीसाधनहरुमा यात्रा गर्ने हुन् तानातान गर्नु सोधीखोजी गर्नु पर्दैन । यस्तो काम हैरानी मात्रै होइन यात्रुहरुमाथिको अपराध हो । त्यस्तो कर्म कसैलेपनि नगर्ने
(२)बढी भाडा नलिने, यात्रुहरुलाई नढाट्ने: राज्यद्धारा निर्धारण गरिएको भन्दा बढी भाडा नलिने, टिकट काट्नेबेलामा भनेको भन्दा फरक सिटमा राख्ने, सिटको पैसा लिएर टुलमा राखेर यात्रा नगराउने । यस्ता कार्यहरु कानुनी रुपमा दण्डनीय छन् ।
(३) टिकट बिना यात्रा नगराउने, हरेक यात्रुको विवरण राख्नेः भाडा तिरेपछि टिकट पाउने यात्रुको अधिकार हो ख्याल गर्ने । यात्रा गर्ने सबै यात्रुहरुको विवरण राख्ने ।
(४)अस्वस्थ प्रतिष्पर्धा नगर्ने: सडकको अवस्थालाई ध्यानदिने, प्रतिष्पर्धा नगर्ने सुरक्षित यात्रा गर्ने गराउने ।
(५)सडकको अवस्थाको सूचना ग्रहण गर्ने: प्रस्थान बिन्दुबाट गन्तव्यसम्मको सडकको अवस्था बारे जानकारी लिएर मात्रै यात्रा तय गर्ने । बाटोमा खाजा खाना तथा रिफ्रेसमेन्टका लागि सुरक्षित स्थानको पहिचान गरेर मात्रै सवारी रोक्नेछौँ ।
(६) सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गर्ने: यात्रा तय गर्नु अघि सवारीसाधनको यान्त्रिक अवस्था चेकजाँच गर्ने । क्षमता भन्दा बढी यात्रु नचढाउने । यात्रामा मादक पदार्थ, लागु पदार्थको सेवन नगर्ने, अरुलाई पनि गर्न नदिने ।
(७) बलजफ्ती नगर्ने: सवारीसाधन सञ्चालन गर्न रोकेको सडकमा जोखिम मोलेर जवरजस्ती सवारीसाधन नचलाउने । सवारी साधन बाटोमा बिग्रीएर रोकिने अवस्था आएमा यात्रुहरुलाई वैकल्पिक व्यवस्था गर्ने ।
(८)सार्वजनिक चासोलाई ध्यान दिने: यात्रुहरुलाई बाधा पुग्नेगरी ठुलो आवाजमा गीत तथा भिडियो नबजाउने । लैङ्गिक हिंसा भड्काउने, महिलाहरुको अपमान हुने खालका गीतसंगित वा भिडियो नबजाउने । महिला, बालबालिका, वृद्धवृद्धा र अशक्तहरुलाई ध्यान दिने ।
(९)यो पनि हाम्रै काम हो: हर्न निषेधित क्षेत्रमा हर्न नबजाउने । लामोदुरीका सवारी साधनमा प्राथमिक उपचार बक्स राख्ने । यात्रुमैत्री व्यवहार गर्ने, बोल्दा सभ्य भाषाको प्रयोग गर्ने ।
(१०)हामी जिम्मेवार हुनेछौँ: खाना समयमै खुवाउने, राम्रो होटलमा खुवाउने, रिफ्रेस (दिशा पिसाव) समय समयमा गराउने ।
(११) स्वास्थ्यप्रति सजग रहने: भत्ता वा कमाइको लोभमा लगातार ट्रिप नगर्ने, खानपानमा ध्यान दिने, स्वास्थ्य ठिक भयोभनेमात्रै जीवन रहन्छ भन्ने ख्याल गर्ने । परिवारका लागि पनि समय बचाउने ।
अन्त्यमा,
निजी क्षेत्रले नेपालमा सार्वजनिक यातायात सेवा प्रदान गरिरहेको छ । सार्वजनिक यातायात सेवा भद्रगोल छ, । सार्वजनिक यातायातमा सरकारको लगानी र व्यवस्थापनबीना सुधार सम्भव छैन, जनतालाई गुनस्तरिय सेवा, भरपर्दो सेवा, सुरक्षित सेवा किपाmयति सेवा विस्तार गर्ने हो भने अन्य देशहरुले झै सरकारकारको प्रत्यक्ष सहभागीता अनिवार्यछ । भविष्यमा सरकारले लगानी गर्ला यतिबेला सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउने, सुरक्षित बनाउने, भरपर्दो बनाउने, विश्वसनिय बनाउने र मर्यादित बनाउन लगानीकर्ता र मजदुरहरुले सरकारको साथ लिएर सकेजति सेवामुखि बनाउन आवश्यक छ ।
लेखक, राई विगत ३१ वर्षदेखि सार्वजनिक यातायात क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् । हाल राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्षका रुपमा कार्यरत छन्



















