काठमाडौं—नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले ‘जेन जी’ आन्दोलनले उठाएको मागअनुसार अहिलेका मुख्य नेताहरुलाई जतिसक्दो छिटो विदा गर्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान जारी भएपछि आजसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए।

भुषालले भने, “मुख्य नेताहरुलाई छिटो विदा दिनुपर्छ। त्यसले दलभित्र र समाजमा नयाँ आशा सिर्जना गर्छ। सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न आयोग गठन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने संकल्प गर्नुपर्छ।”

उनका अनुसार, सबै वामपन्थी पार्टीले विचार, राजनीति, संगठन र मुद्दामा भएको भ्रष्टीकरण स्वीकार गरी पुनः वामपन्थीकरण गर्न आवश्यक छ। उनले वामपन्थी शक्तिलाई ध्रुवीकरण र एकताको दिशामा लैजानुपर्ने बताए।

त्यस्तै, उनले आगामी दश वर्षभित्र काम गर्ने उमेरका सबै नेपालीलाई रोजगारी उपलब्ध गराउने, भ्रष्टाचारविहीन सुशासनयुक्त राज्य निर्माण गर्ने र समाजवादको आधार तयार गर्ने ठोस कार्यक्रम ल्याउनुपर्ने धारणा राखे।

भुषालले थपे, “लोकतान्त्रिक स्थिरता कायम गर्दै अन्तर्राष्ट्रिय समुदायलाई नेपालको समृद्धिमा विश्वास दिलाउनुपर्छ। संविधानलाई असफल पार्ने सम्भावनाको सामना गर्न बलियो लोकतान्त्रिक शक्ति आवश्यक छ।”

उनले आगामी दिनमा चुनावअघि संविधान संशोधनको स्वर चर्किने, परम्परा र राष्ट्रवादको नाममा नयाँ–पुराना शक्तिहरु सक्रिय हुने तथा पपुलिष्ट वा अराजक समूह सडकमा देखिन सक्ने चेतावनी पनि दिए। यस्तो परिस्थिति रोक्न वामपन्थी आन्दोलनका इमान्दार राजनीतिकर्मी तत्काल सक्रिय हुनुपर्ने उनको भनाइ छ।