काठमाडौँ—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्को समयमा सरकारले देखाएको तदारुकता र सक्रियताको प्रशंसा गरेको छ। आइतबार बसेको पार्टीको बृहत् भर्चुअल बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपाले गम्भीर र इमानदार नेतृत्वका कारण जनताले सरकारको उपस्थिति स्पष्ट रूपमा महसुस गर्न पाएको जनाएको हो।
पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको निर्णयमा भनिएको छ, ‘‘सरकार बलियो सांसदको सङ्ख्याले होइन, बलियो सार्वजनिक सेवाले हुने हो। गम्भीर र इमानदार नेतृत्व हुँदा मात्र जनताले ‘सरकार छ’ भन्ने अनुभूति गर्न सक्छन्।’’
बैठकले विपद्को बेला रास्वपाले आफ्नै स्तरबाट गर्दै आएको सहयोग र समन्वयलाई निरन्तरता दिने निर्णय गरेको छ। साथै उद्धार र राहत कार्यमा आफ्नो सीप, स्रोत र दक्षताअनुसार सक्रिय सहभागिता जनाउन पार्टीका सबै तहलाई आह्वान गरिएको छ।
त्यस्तै, आपत्कालीन अवस्थालाई सहज बनाउन राजमार्गका विभिन्न स्थानमा ‘हेल्प डेस्क’ स्थापना गर्न पनि बैठकले आग्रह गरेको छ।
स्थिति सामान्य नआएसम्म हरेक दिन साँझ ७ बजे भर्चुअल बैठक आयोजना गर्ने र प्रदेश तथा जिल्ला कमिटीमार्फत नियमित जानकारी प्रवाह गर्ने निर्णय बैठकले गरेको छ।



















