केराबारी— आमाको मृत्यु भएको वर्षदिन पनि नबित्दै मोरङको केराबारी–९ भलुवा घर भइ हाल बेलबारी–३ बसोबास गरेका जुम्ल्याहा दाजुभाइको पनि १५ दिनको फरकमा निधन भएपछि गाउँ शोकमा डुबेको छ।
दाजुभाइको निधनसँगै गाउँमा एउटा रहस्यमय घटना पनि चर्चामा आएको छ। आमाको निधनपछि परम्परा अनुसार बिजुवा (धामी) बोलाउँदा “अब दुई जना भाइ चाहिन्छ” भन्ने कुरा सुनिएको थियो। त्यतिबेला दाजु हरिप्रसाद लिम्बु र भाइ हरिचन्द्र लिम्बु दुवै विदेशमा थिए।
दशैं मनाउन नेपाल फर्किएका दाजु घर आएपछि चार दिनमै उनको निधन भयो। त्यसपछि घर चोख्याउने क्रममा धामीको शरीरमा दाजुको आत्मा आएको र उनले “भाइको धेरै माया लाग्छ, उसलाई पनि साथ लैजानेछु” भनेको स्थानीयहरूले बताए।
त्यसको केही दिनमै बहराईनमा रहेका भाइको पनि निधन भएको खबर आयो।
यो दुःखद घटनाले गाउँभरि शोक र अचम्म दुबै फैलिएको स्थानीय समाजसेवी पूर्ण राईले बताए। मृतक दाजुभाइ दुवै ५९ वर्षका थिए।



















