काठमाडौं — नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरू गिरफ्तारी दिनका लागि तयार रहेको बताएका छन्।
बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो र आफूलाई तेस्रो नम्बरमा गिरफ्तारीको सूचीमा राखेको आरोप लगाए।
बस्नेतले भने, “हामीलाई गिरफ्तार गर्ने योजना बनाइएको छ भन्ने जानकारी पाएका छौं। तर हामी डराएका छैनौं, गिरफ्तारी दिन तयार छौं। त्यसपछि हुने परिस्थितिको सामना गर्न गृह मन्त्रालय र गृहमन्त्री आफैं तयार रहून्।”
फरक प्रसङ्गमा उनले जेन–जी आन्दोलनका क्रममा एमाले नेताहरूको घर जलाउन माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू संलग्न रहेको दाबी गरे।
उनका अनुसार, “हाम्रा घर जलाउन प्रचण्डका धेरै कार्यकर्ता आएका थिए, त्यसैले माओवादी नेताहरूका फोन मैले उठाएको छैन। रास्वपाका पनि धेरै कार्यकर्ता त्यसमा सहभागी थिए। अहिले उनीहरूले टिकटक र रिलहरू हटाइरहेका छन्, तर ती सबै रेकर्ड हामीले सुरक्षित राखेका छौं।”
बस्नेतको भनाइअनुसार, एमाले नेतामाथि भएको आक्रमणको घटनामा संलग्नहरूलाई अब कानुनी रूपमा जवाफ दिने तयारी भइरहेको छ।



















