ललितपुर — नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट ६४ लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी गरेको आरोप लागेका दुई जनाले जनही ३०–३० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि जेल चलान भएका छन्।

जेनजी आन्दोलनका क्रममा कार्कीको ललितपुरस्थित घरमा चोरी भएको थियो। कार्की आफैंले उपद्रव र डाँका–चोरीको कसुरमा दिएको जाहेरीका आधारमा उदयपुर जिल्ला, कटारी नगरपालिका–७ का २९ वर्षीय सुजन सेवा र महोत्तरी बर्दिबास नगरपालिका–६ का ३० वर्षीय सञ्जय परियार पक्राउ परेका थिए।

प्रहरी अनुसन्धानपछि उनीहरूलाई जिल्ला अदालत, ललितपुरमा पेश गरिएको थियो। अदालतले दुवैजनालाई जनही ३०–३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए पनि रकम तिर्न नसकेपछि उनीहरूलाई नख्खु कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।