काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण तयार पार्न बोलाएको दलहरूको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले आफू २०७३ सालसम्म नेकपा (एमाले) सँग आबद्ध रहेको खुलासा गरेका छन्।

बैठकमा सहभागी दलका नेताहरूले सरकारको कार्यशैली र गृहमन्त्रीको वक्तव्यप्रति कडा असन्तुष्टि जनाएका थिए। विशेषगरी ‘जेन–जी आन्दोलन’ का क्रममा लुटिएका हतियारको जिम्मेवारीबारे गृहमन्त्रीको वक्तव्यलाई नेताहरूले अस्वीकार्य ठहर गर्दै, उनले हतियार प्रयोग नगर्ने प्रतिबद्धता स्पष्ट रूपमा जनाउनुपर्ने माग गरेका थिए।

तीव्र आलोचनापछि गृहमन्त्री अर्यालले आफ्नो अभिव्यक्तिको गलत व्याख्या गरिएको बताउँदै भने,

“मेरो उद्देश्य कुनै पनि दलविरुद्ध वातावरण बनाउने होइन। म पनि २०७३ सालसम्म एमालेमै थिएँ। सरकार दलहरूलाई बाइपास गर्ने नीति अपनाएको छैन।”

उनले आगामी निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र शान्ति–सुरक्षामा सुधार गर्न आफू सक्रिय रूपमा लागिपरेको बताए।

बैठकमा प्रधानमन्त्री कार्कीका साथै अन्य मन्त्रीहरू पनि उपस्थित थिए। सहभागी दलका नेताहरूले निर्वाचन तयारीमा आपसी सहकार्य र विश्वासको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।