काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहार तत्काल नियन्त्रणमा लिनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि पोखरेलले पार्टीको औपचारिक धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको अडान स्पष्ट गर्दै महासचिव पोखरेलले सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। उनले चेतावनी दिएका छन् कि मुख्य राजनीतिक दलहरूलाई पाखा लगाएर गरिने कुनै पनि निर्वाचनले राजनीतिक वैधता प्राप्त गर्न नसक्नेछ।
पोखरेलले भनेका छन्,
“राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा अवरोध पुर्याउन खोज्ने प्रवृत्तिको प्रतिवाद सरकारतर्फबाट भएको देखिँदैन।”
उनले कतिपय समूहहरू समानान्तर सत्ता सञ्चालन गर्नेजस्ता गतिविधिमा सक्रिय रहेको र यस्तो अवस्थाको नियन्त्रण अनिवार्य भएको पनि औंल्याए।
पोखरेलले थपे,
“सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्छ। तर, अहिलेका केही मन्त्रीहरू त्यसको ठीक विपरीत व्यवहार गरिरहेका छन्, जसमा तत्काल नियन्त्रण आवश्यक छ।”




















