काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशलाई राजनीतिक निकास दिन राजसंस्थासहितको नवीन त्रिपक्षीय समझदारी गर्नुपर्ने प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरेको छ।

विघटित प्रतिनिधिसभाको पाँचौँ ठुलो दल राप्रपाले सरकार र अन्य दलहरूसँगको बैठकमा पहिलो पटक राजसंस्था, जेनजी आन्दोलन र राजनीतिक दलहरूबिच सहकार्यको अवधारणा अघि सारेको हो।

बैठकमा सहभागी राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठ का अनुसार, जेनजी विद्रोहपछिको अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्न अहिलेको अन्तरिम अवधिलाई सदुपयोग गर्नुपर्छ र देशले विगतका त्रुटिहरू सच्याउने ऐतिहासिक अवसरको रूपमा लिनुपर्ने पार्टीको धारणा बैठकमा राखिएको हो।

श्रेष्ठले भने,

“राप्रपाको तर्फबाट हामीले जेनजी विद्रोह र त्यसपछि सिर्जित परिस्थितिलाई देशले विगतका त्रुटि–कमजोरी सच्याउने ऐतिहासिक अवसरको रूपमा सदुपयोग गर्नुपर्ने, परम्परागत शक्तिको प्रतिनिधि संस्था राजसंस्था (राजा), अहिलेको परिवर्तनकारी शक्ति जेनजी, र राजनीतिक दलहरूबिच निर्वाचन अगावै नवीन समझदारी हुनुपर्ने र त्यसपछि मात्रै निर्वाचनमा जानुपर्ने विषय बैठकमा राखेका छौँ।”

बैठकमा राप्रपाको तर्फबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहनकुमार श्रेष्ठ सहभागी थिए।