काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा कुनै पनि छलफल नभएको स्पष्ट पारेका छन्।
उनी ‘उज्यालो नेपाल पार्टी’ सँग जोडिँदै त्यस पार्टीको अध्यक्ष बन्ने तयारी भइरहेको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएको समाचारप्रति प्रतिक्रिया जनाउँदै मन्त्री घिसिङले ती समाचारहरू पूर्णतः असत्य र भ्रमपूर्ण रहेको बताएका छन्।
मन्त्री घिसिङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागिता समेत नरहेको स्पष्ट पार्दछु।”
उनले आफूलाई कुनै पनि राजनीतिक छलफल वा सल्लाहमा सहभागी नगराई दुषित मनसायका साथ तथ्यहीन सामग्री प्रचार–प्रसार गरिएको भन्दै ती समाचारहरूको खण्डन गरेका छन्।
“मसँग कुनै छलफल र सल्लाह नै नगरी असत्य तथा तथ्यहीन सामग्री प्रचार–प्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।
घिसिङले हालको जिम्मेवारी सार्वजनिक सेवामा केन्द्रित रहेको भन्दै यस्ता हल्ला र प्रचारले आफू र संस्थाको छविमा प्रतिकूल असर पार्ने भन्दै जिम्मेवार सञ्चारमाध्यमलाई सत्यता पुष्टि नगरिकन यस्ता समाचार प्रसारण नगर्न आग्रह गरेका छन्।




















