काठमाडौं — नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको गिरफ्तारीविरुद्ध उनकी छोरी कुश्मा महरा ‘प्रगति’ले भाइटीकाकै दिन एक भावुक खुला पत्र सार्वजनिक गरेकी छन्।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानकी सदस्य सचिव समेत रहेकी प्रगतिले फेसबुकमार्फत लेखेकी उक्त पत्रमा बुबामाथि गरिएको कारबाहीलाई “राजनीतिक प्रतिशोध” भनेकी छन्। उनले निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न माग गर्दै न्यायालयलाई समेत निष्प्रभावी बनाउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरेकी छिन्।

“बुबा सत्य, इमान र निष्ठाको मानक हुन्, तर सुशासनको नाममा चलाइएका शक्तिले न्यायालयलाई नै निष्प्रभावी बनाएका छन्,” उनले लेखेकी छन्।

प्रगतिले बाल्यकालदेखि जनयुद्धसम्मको संघर्ष सम्झँदै अहिलेको राजनीतिक परिवेशप्रति गम्भीर प्रश्न उठाएकी छिन्। उनका अनुसार, एमसिसी परियोजनाको विरोधका कारण बुबा नियोजितरूपमा लक्षित भएका हुन्।
उनले भनिन्, “सत्यको पक्षमा उभिनु नै अहिले अपराधजस्तो बनाइएको छ।”

उनले भुटानी शरणार्थी, ललिता निवास, एनसेल, वाइडबडी र सहकारीजस्ता ठूला घोटाला लुकाइँदै इमानदार नेताहरूलाई पटक–पटक थुन्नु अन्यायपूर्ण भएको टिप्पणी गरेकी छन्।

पार्टी नेतृत्वप्रति समेत असन्तुष्टि जनाउँदै उनले लेखेकी छिन्, “बुबामाथि झूटा मुद्दा लगाउँदा पनि पार्टी मौन रहनु पीडादायी छ। क्रान्तिकारीकै पार्टीमा इमानदार किन असुरक्षित छन् ?”

पत्रको अन्त्यमा प्रगतिले लेखेकी छिन्, “यो दिपावलीले दुखीलाई सुख र अन्यायमा परेकालाई न्याय दिलाओस्। सत्य र इमानदारीमा अडिग रहनेका कहिल्यै शिर नझुकून्।”