एजेन्सी — विश्वप्रसिद्ध टिकटक स्टार खाबी लेमको मृत्युबारे फैलिएको अफवाह झूटो भएको पुष्टि भएको छ। पछिल्ला दिनमा सामाजिक सञ्जालहरूमा “खाबीको कार दुर्घटनामा निधन” भएको दाबी गर्दै अनेक पोस्टहरू भाइरल भएका थिए।
फेसबुक, युट्युब र एक्स (ट्विटर) मा अक्टोबर २०२५ भित्रै धेरै प्रयोगकर्ताहरूले खाबीको मृत्युको दाबी गर्दै पोस्ट र भिडियोहरू सेयर गरेका थिए। केहीले त ध्वस्त गाडीका तस्बिरहरू समेत प्रयोग गरेका थिए, जसले उनका प्रशंसकबीच भ्रम र चिन्ता फैलाएको थियो।
तर केही घण्टामै अन्तर्राष्ट्रिय तथ्य–जाँच संस्थाहरू रोयटर्स र स्नोप्सले ती सबै दाबीहरू पूर्ण रूपमा झूटो र निराधार भएको स्पष्ट पारेका छन्। कुनै पनि विश्वसनीय समाचार स्रोत वा खाबीका आधिकारिक प्रतिनिधिहरूले त्यस्तो दुर्घटनाको पुष्टि गरेका छैनन्।
तथ्यजाँच अनुसार, यी अफवाहहरू क्लिकबेट वेबसाइटहरू र फिशिङ लिंकहरूबाट सुरु भएका थिए, जसको उद्देश्य प्रयोगकर्ताको डेटा संकलन गर्ने र भ्युज बढाउने मात्र थियो।
सेनेगलमा जन्मिएर इटालीमा हुर्किएका खाबी लेमले सन् २०२० मा कोभिड–१९ महामारीका कारण रोजगारी गुमेपछि टिकटकमा शब्दबिनाका हास्य भिडियो बनाउन थालेका थिए। उनी अहिले विश्वका सबैभन्दा बढी फलोअर भएका टिकटोकर हुन्।
हाल खाबी लेम पूर्ण रूपमा जीवित, स्वस्थ र सक्रिय छन्। उनका मृत्युसम्बन्धी सबै अफवाहहरू भ्रम फैलाउने उद्देश्यका साथ बनाइएका सावित भएका छन्।



















