म्याग्दी — अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखराको बसाइमा कुनै कमी थिएन। भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन, एक छोरा बेलायती गोर्खा सैनिक, तीन छोरी हङकङ, अमेरिका र पोर्चुगलमा — जीवनमा सुविधा र सम्पन्नताको कमी थिएन। तर, वृद्ध अवस्थामा उनले सोच बदले — “अब बाँकी जीवन गाउँमै बिताउँछु।”
२४ वर्षपछि बलबहादुर पत्नी ज्यानमाया, जेठा छोरा नारायण र बुहारी कृष्णालाई लिएर जन्मथलो स्वाँत फर्किए। पोखराको रामबजारस्थित घर आफन्तको जिम्मामा छाड्दै उनी गाउँ फर्किए। “सहरमा सबै कुरा छ, तर माया छैन,” उनले भने, “गाउँमा सहयोग, सद्भाव र अपनत्व अझै बाँकी छ।”
बलबहादुरको गाउँ फर्काइ केवल भावनात्मक निर्णय थिएन। उनले गाउँमै प्यारामिड होटल सञ्चालनमा ल्याएका छन् — जसको उद्देश्य सन्तानलाई गाउँमै सम्भावना देखाउनु हो। दुई रोपनी पाखो सम्याएर उनले करिब रु १ करोड ८० लाख लगानीमा होटल निर्माण गरे। “छोराबुहारीलाई गाउँ ल्याएर त्यत्तिकै राख्न भएन,” उनी भन्छन्, “होटलले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै बनायो।”
गत हप्तादेखि सञ्चालनमा आएको होटलको बनावट अनौठो छ — पाहुनाका लागि प्यारामिड शैलीका १३ वटा सुत्ने भवन छन्। दुईवटा कोठा बाहेक सबैमा दुई–दुई बेड छन्। जस्तापाटाको चुच्चो छानाले हिउँ थुप्रिन नदिने र भित्रको फर्मले हिउँदमा न्यानो, बर्खामा चिसो बनाउने व्यवस्था गरिएको छ।
भारतको सिलाङ र स्विजरल्याण्डका घरको शैलीमा बनेको होटलको सबै संरचना काठका हुन्। होटलमा परिवारका चार सदस्य बाहेक थप एक जना स्थानीयलाई रोजगारी दिइएको छ। सिस्नोको मुना, रातो च्याउ, दौडे, स्थानीय कुखुरा, खसीबोकाको मासु, कोदो र मकैको ढिडो यहाँका परिकार हुन्।
धौलागिरि हिमालको मनमोहक दृश्य पृष्ठभूमिमा रहेको स्वाँत गाउँ अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ। शिखदेखि करिब एक घण्टाको पैदल दूरीमा रहेको गाउँबाट छहरे झरना, खोपारा, मोहरेडाँडा, घान्द्रुकजस्ता गन्तव्य सहजै पुग्न सकिन्छ। गाउँमा इन्टरनेट, खानेपानी, बिजुली र सडक पुगेका छन्।
हाल ७० घरमध्ये करिब २५ देखि ३० परिवार मात्रै गाउँमा बस्छन्। बाँकी पोखरा, काठमाडौं र विदेशतिर छन्। स्थानीय शिक्षक रामचन्द्र पाइजा पुनका अनुसार स्वाँतमा आलु खेती र रायो सागको बीउ उत्पादनको राम्रो सम्भावना छ।
बलबहादुरको प्रयास केवल आफ्नो परिवारको पुनर्स्थापनासम्म सीमित छैन। “रित्तिदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हुँ,” उनी भन्छन्, “अरूलाई पनि गाउँ फर्कने सन्देश दिनु मेरो उद्देश्य हो।”



















