काठमाडौं—अन्तरिम सरकारको मन्त्री बन्ने चर्चामा आएका खगेन्द्र सुनार दुईवटा फरक मुद्दामा फरार अभियुक्त रहेको प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) ले देखाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखा स्रोतका अनुसार, सुनारमाथि दुईवटा अभियोगमा कैद भुक्तान गर्न बाँकी अभियुक्तका रूपमा रेकर्ड भएको हो।

सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी गरेको र सो मुद्दा अझै फर्स्यौट नभएको प्रहरी रेकर्डमा उल्लेख छ।

त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते जारी गरेको अर्को पक्राउ पुर्जीका आधारमा समेत उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी अभियुक्तका रूपमा दर्ता छन्।

अदालतले सुर्खेत प्रहरीलाई उक्त पुर्जी कार्यान्वयनका लागि २०८१ मंसिर २१ गते समेत ताकेता गरेको थियो।

सुर्खेतको मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोड गरेको अभियोगमा सुनारमाथि मुद्दा चलिरहेको प्रहरीले जनाएको छ।

सुनारविरुद्ध सर्वोच्च अदालतमा पनि मानहानीसम्बन्धी मुद्दा विचाराधीन छ। अधिवक्ता मनिषा गौतमले हालेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालतमा आगलागी भएपछि सुनुवाइ स्थगित भएको हो।

नवराज विक प्रकरणमा उच्च अदालत सुर्खेतको फैसला प्रति असन्तुष्ट हुँदै सुनारले अदालत परिसरमै हुलहुज्जत मच्चाएका थिए। उनले न्यायाधीशहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए, जसपछि अधिवक्ता गौतमले मानहानीको मुद्दा दायर गरेकी हुन्।

सर्वोच्च अदालतले सुनारलाई झिकाउने आदेश दिएपछि उनले न्यायाधीश सपना मल्ल प्रधानविरुद्ध अपशब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा लेखेका थिए।

त्यस्तै, गौतमको तस्बिर र फोन नम्बर पोस्ट गर्दै फेसबुकमा “तँ नेपाल बारकी होस् कि ठमेल बारकी” भन्ने अपमानजनक स्टाटस लेखेका थिए।

गौतमले सो घटनापछि साइबर ब्यूरोमा जाहेरी दर्ता गर्न गएकी थिइन् तर ब्यूरोले काभ्रेको अदालतमा जान सल्लाह दिएको उनले बताएकी छन्।