काठमाडौँ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले अब चुप नबस्ने निर्णय गर्दै सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सोमबार संगठनले आफ्नो स्थापना दिवसको अवसरमा यो घोषणा गरेको हो।
अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र संगठनको अस्तित्व रक्षा गर्न अब चुप बस्ने अवस्था नरहेको बताए। उनले केही व्यक्तिहरू र अभियन्ताहरूले कांग्रेसका कार्यकर्ता र उनका परिवारलाई सामाजिक सञ्जालमा ‘झोले’को रूपमा चित्रण गरी ट्रोल गर्ने प्रयास भइरहेको भन्दै, अब सडकमा उठ्ने विकल्प मात्रै बाँकी रहेको स्पष्ट पारे।
गुरुङले भदौ २४ गतेका घटनाबाट भएको क्षतिका लागि क्षमा माग्दै भविष्यमा त्यस्ता अवस्था नआओस् भनेर संगठन सजग र तयार रहने बताए। उनले तरुण दलका नेता–कार्यकर्तालाई आगामी आन्दोलनमा सक्रिय रहन निर्देशन पनि दिएका छन्।
संगठनले आगामी दिनमा हुने कुनै पनि आन्दोलनमा सक्रिय सहभागिता जनाउने तयारीमा रहेको बताइएको छ।




















