काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले देशभर सामान्यतया बदली भएको र कतिपय स्थानमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार गण्डकी र बागमती प्रदेशका केही भूभागमा अहिले छिटपुट वर्षा भइरहेको छ। दिउँसोसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश भूभागमा आंशिक बदली रहनेछ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपात हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली हुने सम्भावना छ।
महाशाखाले गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले त्यहाँको दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन गतिविधिमा असर पर्न सक्ने चेतावनी दिएको छ। साथै, ती क्षेत्रका बासिन्दा र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।



















