काठमाडौं—नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अन्योलता अन्त्य गर्न जेन–जी समूहको सहभागितासहित नयाँ सरकार गठन गरी आगामी फागुन २१ गते नै निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) का प्रतिनिधिसँग भएको भेटमा ओलीले सो प्रस्ताव राखेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत जानकारी दिएका छन्।
ओलीले प्रस्तुत गरेको ६ बुँदे मार्गचित्रमा असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संविधान संशोधन, जेन–जी आन्दोलनका सहभागीहरूसहित सर्वदलीय सरकार गठन र निर्धारित मितिमै निर्वाचन गर्ने प्रावधान समेटिएको छ।
ओलीको ६ बुँदे मार्गचित्र
१. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना।
२. प्रतिनिधिसभाबाट संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था।
३. जेन–जी आन्दोलनका कारण आफू प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता नबढोस् भनेर पुनः प्रधानमन्त्रीको दाबी नगर्ने स्पष्ट प्रतिबद्धता।
४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन।
५. उक्त सरकारले तीन महिनाभित्र नयाँ प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने, जसले गर्दा फागुन २१ कै घोषित मितिमा चुनाव सम्भव हुने।
६. संविधान र लोकतन्त्रलाई सही दिशामा ल्याउन यी सबै कामका लागि राजनीतिक दलबीच अग्रिम सहमति निर्माण।
ओलीको प्रस्तावले हालको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासका रूपमा व्याख्या गरिएको छ। उनले जेन–जी आन्दोलनका मागहरूलाई राजनीतिक प्रणालीभित्र समेट्दै संविधान, लोकतन्त्र र स्थायित्व पुनःस्थापना गर्ने लक्ष्य रहेको बताएका छन्।




















