काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोकिएका वडा र पालिका तहका समितिहरूको अधिवेशन सुरू गर्ने निर्णय गरेको छ।
कात्तिक ९ र ११ गते बसेको पार्टी सचिवालयको बैठकले अधिवेशन प्रक्रिया पुनःसुरू गर्ने निर्णय गरेको हो।
रास्वपाले आगामी फागुन ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ। तर उक्त मिति हेरफेर हुन सक्ने पार्टीले जनाएको छ। पार्टीको आगामी कात्तिक २१, २२ र २३ गते बस्ने विस्तारित बैठकले महाधिवेशन मिति अन्तिम रूप दिने बताइएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकले पार्टीका गतिविधिहरू नियमित सञ्चालन गर्ने, विशेषतः वडा र पालिका अधिवेशन सुरू गर्ने, जिल्ला तथा प्रवास तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक तहमा विभिन्न अभियानहरू अघि बढाउने निर्णय गरेको छ।
‘पार्टीको गतिविधि नियमित सञ्चालन गर्ने, विशेषतः पार्टीको वडा, पालिका अधिवेशन सुरू गर्ने, जिल्ला तह एवं प्रवासमा समेत प्रशिक्षण सञ्चालन गर्ने साथै पार्टीको हरेक तहले आफ्नो भूगोलमा विभिन्न अभियानहरू सञ्चालन गर्न निर्देशन गर्ने निर्णय गरियो,’ बुर्लाकोटीले भने।




















