काठमाडौंं—नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले व्यक्तिको संकट टार्नका लागि गरिएको एकता अन्ततः अनेकतामा परिणत हुन सक्ने चेतावनी दिएकी छन्।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय गराउन जोडबल गरेपछि नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन्।

उनले भनिन्, “व्यक्तिको आवश्यकता र संकट टार्नका लागि गरिएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासले पनि यही देखाएको छ। मान्छे थपेर बहुमत पुर्‍याउन त सकिन्छ, तर त्यस्तो बहुमतले सबैको भावना प्रतिनिधित्व गर्छ भन्ने होइन।”

बैठकमा अध्यक्ष नेपालले बहुमतका आधारमा माओवादीसँग एकता गर्ने निर्णय गराउन खोजे पनि वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित उनका निकट नेताहरूले त्यसको विरोध गरेका छन्।