काठमाडौं — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्वअध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारबाट कुनै न कुनै तरिकाले बाहिर ल्याउनुपर्ने बताएका छन्।
डा. भट्टराईले शुक्रबार काठमाडौंमा रास्वपाले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’लाई सम्बोधन गर्दै रवि लामिछानेलाई अन्याय भएको जस्तो लागेर आफूले हस्ताक्षर गरेको बताए। उनले भने, “उहाँको मुद्दामा बाहिर रहेर सामना गर्दा न्यायपूर्ण हुन्छ। उहाँमा जुन क्षमता र प्रतिभा छ, त्यसको प्रयोग पनि हुन पाउँथ्यो।”
उनले त्यहाँ उपस्थित अन्य दलका नेताहरुलाई सबैजनाले न्यूनतम सहमति गरेर एउटै पार्टी बनाउन सुझाएका छन्। डा. भट्टराईले सीके राउत, स्वर्णिम वाग्ले, रेशम चौधरी, दुर्गा प्रसाईं जस्ता नेताहरुलाई एउटै ‘कलेक्टिभ’ टिममा समेट्न आह्वान गरे।
उनका अनुसार, पुराना दलहरूले जनतालाई ठगेर दुर्दशामा पुर्याएका छन् र नयाँ/वैकल्पिक दलहरूलाई एउटै मोर्चामा ल्याएर मात्र कांग्रेस र कम्युनिस्ट ब्रान्डका पार्टीहरूलाई परास्त गर्न सकिन्छ।
डा. भट्टराईले कांग्रेस र कम्युनिस्ट पार्टीहरूमा गहिरो जरा रहेको बताए र त्यस्ता जरा हटाएर मात्र पुरै प्रणाली बदल्न सकिने बताए।




















