काठमाडौं — पार्टी पुनर्गठनको विषय उठान गरेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीमाथि दलको सक्रियता छाड्न भित्रैबाट दबाब दिइन थालेको खुलेको छ।

कार्कीले आफैं जनाएका अनुसार, पार्टी छाड्न आग्रह गर्ने वा ‘छाडेर जा, किन नछाडेको’ जस्ता प्रकारका दबाबपूर्ण भाष्यहरु उनीमाथि खडा गर्न थालिएको छ।

तोसिमा कार्कीले पार्टीलाई व्यक्ति केन्द्रित नभई पुनर्गठन गरेर राजनीतिक एजेन्डा स्थापित गर्नुपर्ने विषय उठाउँदै आएकी छिन्। उनी यसै कारणले सचिवालय सदस्यमा नराखिएको कतिपयको बुझाइ छ।

नयाँ राजनीतिक परिवेश अनुसार पार्टीलाई परिमार्जित र पुनर्गठन गरेर लैजानुपर्ने कुरा उनले केन्द्रीय समितिका बैठकहरूमा समेत उठाउँदै आएकी थिइन्।

खासगरी जेनजी पुस्ताको विद्रोहका क्रममा सभापति रवि लामिछाने नख्खु जेलबाट बाहिर निस्किएको विषयबारे पनि कार्कीले पार्टी बैठकहरूमा प्रश्न उठाएकी थिइन्।

त्यसैगरी, पार्टी परित्याग गरी स्वतन्त्र अभियानमा लागेकी सुमना श्रेष्ठ रास्वपाबाट अलग भएपछि, तोसिमामाथि परोक्ष रूपमा पार्टी छाड्न दबाब आएको बुझिन्छ।