काठमाडौं — नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अपिलप्रति तीखो प्रतिक्रिया दिएका छन्।

शुक्रबार साँझ अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत पार्टी छाडेकाहरूलाई एकजुट हुन अपिल गरेका थिए। सोही अपिललाई लिएर बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै ओलीको भनाइप्रति व्यङ्ग्य गरेका हुन्।

उनले लेखेका छन्, “फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्। मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता। कारण—गहिराइको चाप र नेतृत्वको राप।”

बास्कोटाले वाम राजनीतिमा देखिने स्वार्थपरक एकता र पुनःफुट्ने प्रवृत्तिलाई व्यङ्ग्य गर्दै थप लेखेका छन्, “फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु, अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।”

उनको यो अभिव्यक्तिलाई एमालेभित्र पुनः एकताको चर्चा चलिरहेका बेला नेताहरूबीचको अविश्वास र आन्तरिक असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।