काठमाडौँ — नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास, गुण्डुमा बस्दैछ। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक मुख्यतः आसन्न ११औँ महाधिवेशन तयारीमा केन्द्रित हुनेछ।

उनका अनुसार मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोटको विधि र संख्याबारे बैठकले अन्तिम निर्णय गर्नेछ।

१०औँ महाधिवेशनमा एक हजार पार्टी सदस्य बराबर तीन प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको थियो। यसपटक भने १२ सय सदस्य बराबर तीन प्रतिनिधि छनोट गर्ने प्रस्तावमाथि छलफल हुँदैछ।

हाल एमालेमा ६ लाख ६३ हजार पार्टी सदस्य कायम रहेको पार्टीले जनाएको छ।

बैठकले महाधिवेशन तयारीसँगै विभिन्न समिति तथा उपसमिति गठन, कार्ययोजना टुंग्याउने र जनपरिचालन कार्यक्रमको खाका तय गर्नेछ।

पार्टी स्रोतका अनुसार, महाधिवेशनसँगै एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको जनपरिचालन अभियान सुरु गर्ने तयारी पनि गरेको छ।