काठमाडौँ—सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्। उनीहरूको हप्ता दिनको फरकमा मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ।
स्थानीयहरूका अनुसार सो टोलमा पछिल्ला केही दिनयता धेरैजना बिरामी परिरहेका छन्। स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने जनस्वास्थ्य विज्ञहरूको अनुमान छ।
जनस्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण गर्न, प्रभावित क्षेत्रमा सरसफाइ र स्वास्थ्य सचेतना अभियान तत्काल सञ्चालन गर्न सुझाव दिएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले घटनाबारे अध्ययन गरी प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने तयारी गरेको जनाएको छ।



















