केराबारी—मोरङको केराबारी गाउँपालिका–१० का पूर्व वडाध्यक्ष तथा नेकपा (एमाले) का नेता जङ्गराज खवास भुजेलको आज अन्त्येष्टि गरिने भएको छ ।

उनका भतिज नारायण भुजेलका अनुसार खवासको पार्थिव शरीर हिजो (कात्तिक १५ गते) साँझ ८ बजे भारतको दिल्लीबाट विराटनगरस्थित सबगृहमा ल्याइएपछि आज बिहान १० बजे घरमा पुर्‍याइने र ११ बजे केराबारी–१० स्थित खदम मुक्तिघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको हो ।

६० वर्षीय खवासको भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा मुखको क्यान्सरको उपचारका क्रममा शुक्रबार निधन भएको थियो।

वामपन्थी आन्दोलनका पुराना र सक्रिय नेताका रूपमा परिचित खवासको निधनले गाउँ, समाज र पार्टीमा शोकको वातावरण छाएको छ।

पार्टीका नेताहरूले स्वर्गीय खवासलाई निष्ठावान, इमानदार र जनपक्षीय नेताका रूपमा स्मरण गरेका छन्।

वडाध्यक्षको कार्यकालमा उनले स्थानीय विकास, पूर्वाधार निर्माण र जनजीवन सुधारमा उल्लेखनीय योगदान गरेका थिए।