काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले) लाई चुनाव सम्बन्धी राजनीतिक छलफलका लागि बोलाएकी छन्। एमालेले हालैका दिनमा वर्तमान सरकारलाई “असंवैधानिक” ठहर गर्दै आगामी निर्वाचन नहुने दाबी गर्दै आएको छ।
शनिबार प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेकी थिइन्। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार सो भेटमा आगामी निर्वाचनका तयारी, दलहरूको प्रतिबद्धता र आवश्यक समन्वयबारे विस्तृत छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा सबै दलको स्पष्ट राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै एमालेसँग पनि संवाद गर्ने निर्णय गरेकी हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार एमाले नेतालाई छलफलका लागि बोलाइएको छ।
आज (शनिबार) एमालेको सचिवालय बैठक परेकाले एमाले नेतृत्वले अर्को दिन भेट्ने जानकारी बालुवाटारलाई पठाएको बताइएको छ।
छलफलमा सहभागी कांग्रेसका नेता थापा र शर्माले सरकारको पहललाई समर्थन जनाउँदै भने, “एमाले पनि अन्ततः चुनावबाट भाग्न सक्दैन,” भन्दै सरकार र दलहरूले संवादलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।
त्यस्तै, उनीहरूले आफ्नो पार्टीले जेनजी युवा र अन्य दलहरूसँग पनि गहन संवाद सुरु गर्ने तयारी गरेको बताए।
यसअघि पनि प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग वार्ता गर्दै त्रिपक्षीय संवाद (सरकार–राजनीतिक दल–जेनजी युवा) समेत आयोजना गरेकी थिइन्।




















