माओवाद छोडेर, आफ्ना पुराना सहकर्मी नेताहरू र सयौं अरू नेता-कार्यकर्ता छोडेर माधव नेपालसँग गला मिलाउनु प्रचण्डको अहिलेको ‘महान उपलब्धि’ हो । प्रभाकरको शब्दमा ‘भ्रष्टाचारको भारी’ बोकेर हिँड्नु प्रचण्डको पश्चगामी रहर हो”

  • ✍ निर्मल भट्टराई nirmal bhattrai

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र माधव नेपाल मिलेर छुट्टै पार्टी गठन गर्ने निर्णय गरेपछि माओवादीलगायतका साना वाम समूहमा फेरि विभाजन सुरू भएको छ। माओवादी केन्द्रको अल्पमत पक्षलाई समेटेर सो पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले ‘प्रगतिशील अभियान, नेपाल’ मार्फत् छुट्टै पार्टी बनाउँदै छन् भने नेत्रविक्रम चन्द विप्लवको पार्टी यसैबीचमा दुई पटक विभाजन भएको छ ।

माधव नेपालले नेतृत्व गरेको ‘एकीकृत समाजवादी’को पनि विभाजन हुने निश्चित भएको छ । सो पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीलगायतको नेतृत्वमा ठूलो समूह आफ्नो घर एमाले फर्कने कसरत सुरू भएको छ। सम्मानित नेता झलनाथ खनालले नेकपा(एमाले)बाट छुट्टिएका सबैलाई ‘विगतमा माले र एमाले निर्माणमा आफूले गरेको दु:ख सम्झेर माओवादीमा विलय नहुन’ आह्वान गरेका छन् ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्धा खेपिरहेका माधव नेपाललाई एकीकृत समाजवादीको अध्यक्ष बनिरहन समस्या उत्पन्न भएपछि हतार-हतार प्रचण्डको ओत लाग्नै पर्ने वाध्यता थियो। आफ्नो पार्टीबाट पद निवृत्त हुनुभन्दा नयाँ पार्टीमा खास जिम्मेवारी लिनु नपर्ने ‘सहसंयोजक’ पदमा बस्नु उनले उपयुक्त ठाने । त्यसो त तत्कालीन नेकपाबारे सर्वोच्चले फैसला सुनाएपछि पेरिसडाँडामा कुर्सी, टेवल र नेमप्लेट बनेकै थियो । त्यसैको धुलो टक्टक्याए भैगो । नयाँ पार्टीमा माधव नेपालको पदको ग्यारेन्टी भएपछि अरु नेताहरू ‘पानी सदस्य’ भए हुन्छन् नभए हुँदैनन् वाल मतलव भएन । विशेष आदालतमा भ्रष्टाचारको मुद्दा कायम हुँदासम्म संसदीय चुनाव लड्न अयोग्य माधव नेपालका लागि यो नै महान उपलब्धि हो ।

पहिले पार्टीबाट आफ्ना आलोचक नेता कार्यकर्ता लखेट्ने र पछि तिनीहरूले बनाएको पार्टीसँग मोर्चा बनाउने प्रचण्डको पुरानै लत हो । विचार सिध्दान्तले भन्दा पनि कुनै चटकले आफ्नो वरिपरि भीड जम्मा गर्नु प्रचण्डको लागि ‘क्रमभङ्गता’ वा ‘अग्रगामी छलाङ’ हो । माओवाद छोडेर, आफ्ना पुराना सहकर्मी नेताहरू र सयौं अरू नेता-कार्यकर्ता छोडेर माधव नेपालसँग गला मिलाउनु प्रचण्डको अहिलेको ‘महान उपलब्धि’ हो । प्रभाकरको शब्दमा ‘भ्रष्टाचारको भारी’ बोकेर हिँड्नु प्रचण्डको पश्चगामी रहर हो ।

उनीहरूले विगतमा झैं एमालेको श्रीवृद्धिमा अहम् भूमिका खेल्नेछन् । अनि विचारविहीनतामा फसेको प्रचण्ड-माधव समूह कुइरोमा हराएको कागसरह हुने छ । सुरूवातमै प्रष्ट भयो, प्रचण्ड-माधव एकताले कुनै एकताको फूलबारी बनाउने छैन, बरु विभाजनको महामारी फैलाउने छ 

जसरी हाँडीका फब्ल्याँटा जोडेर फेरि हाँडी बनाउन सकिँदैन, त्यसरी नै यो खालको वाम एकताले कुनै सकारात्मक गन्तव्यमा पुग्न सकिँदैन । बरू यसले सयौं राम्रा नेता कार्यकर्ताको लामो र संघर्षपूर्ण राजनीतिक जीवनको पूर्णाहुति दिन्छ । ‘टालाटुली बटुली, कति राम्री पुतली’ हुन्छ, जीवन हुँदैन । यो ‘एकता’ले भीडलाई केही समय अलि ठूलो देखाउला तर पार्टी बन्दैन ।

यो परिस्थितिलाई गम्भिरतापूर्वक लिएको नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा(एमाले)ले सबै कम्युनिष्ट क्रान्तिकारीहरूलाई आफ्नो गौरवशाली घर नेकपा(एमाले)मा फर्कन आग्रह गरेको छ । एमाले अध्यक्ष के पी शर्मा ओलीले विभिन्न कालखण्डमा पार्टीलाई ठूलो योगदान गरेका तर हाल पार्टी बाहिर रहेका सबैलाई घर फर्कन आग्रह गर्नुभएको छ । देशलाई समाजवादतर्फ लैजाने एकमात्र पार्टी एमालेलाई राष्ट्रिय शक्ति बनाउन यो सम्यक् अपील गरिएको हो ।

एमाले सिध्याउन देशी-विदेशी शक्ति लागे पनि एमाले झन निख्कर हुँदै गएको, राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने, देश निर्माणको श्रेय सबभन्दा बढी पाउन सक्ने, राष्ट्रियत-सार्वभौमिकता-भौगोलिक अखण्डताको पक्षमा चट्टानी अडान राख्न सक्ने पार्टीको रूपमा एमाले अग्रभागमा रहेको कारण एमालेमा समाहित हुँदा कसैले पनि शीर निहुराउने अवस्था आउने छैन । सानो घरमा पो बस्ने कोठाको चिन्ता हुन्छ, ठूलो घरमा जता बसे पनि भयो। धेरैलाई यसले उकुसमुसबाट उन्मुक्त वातावरणमा ल्याउने पक्का छ ।

हरेक घटनामा सकारात्मक पक्ष रहेको हुन्छ भन्ने तथ्य मार्क्सवादीहरूको लागि नयाँ कुरा भएन । प्रचण्ड-माधव एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा सकारात्मक डोव छोड्ने निश्चित छ । यसबाट सयौंको सङ्ख्यामा हाल माओवादी र ‘एकीकृत समाजवादी’मा छरिएर रहेका कम्युनिष्ट क्रान्तिकारीहरू एमालेको रक्तरञ्जित झण्डामुनि आबद्ध हुनेछन् । र, उनीहरूले विगतमा झैं एमालेको श्रीवृद्धिमा अहम् भूमिका खेल्नेछन् । अनि विचारविहीनतामा फसेको प्रचण्ड-माधव समूह कुइरोमा हराएको कागसरह हुने छ । सुरूवातमै प्रष्ट भयो, प्रचण्ड-माधव एकताले कुनै एकताको फूलबारी बनाउने छैन, बरु विभाजनको महामारी फैलाउने छ ।