विराटचोक — मोरङको केराबारी गाउँपालिका अस्पतालमा आजदेखि आँखा उपचार सेवा र अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) सेवा औपचारिक रूपमा सुरु गरिएको छ।
सेवाको शुभारम्भ बुधवार एक विशेष कार्यक्रममा गरिएको हो, गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य खड्गबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, अग्रज व्यक्तित्वहरू, स्वास्थ्यकर्मी, सम्बन्धित शाखाका कर्मचारीहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आँखा उपचार सेवा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन हुने जनाइएको छ। साथै, भिडियो एक्स–रे सेवा (अल्ट्रासाउण्ड) सेवा २०७९ मंसिर २ गतेदेखि नियमित रूपमा सञ्चालन हुनेछ। यो सेवा प्रत्येक मंगलवार दिउँसो ११ देखि २ बजेसम्म र शुक्रवार बिहान ७ देखि ९ बजेसम्म उपलब्ध हुनेछ।
स्थानीयवासीहरूले नयाँ सेवा थपिएपछि स्वास्थ्य सुविधा अझ सहज र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्।























