विराटचोक—मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अव्यवस्थित तथा असुरक्षित विद्युतीय र सञ्चारका तार हटाउन सम्बन्धित सेवा प्रदायकहरूलाई कडा निर्देशन दिएको छ।
बिहीबार नगरपालिकाले जारी गरेको सूचनामा सडक तथा सार्वजनिक स्थानमा जथाभावी झुण्डिएका तारका कारण दुर्घटनाको जोखिम बढेको र नगरको सौन्दर्यमा असर परेको भन्दै तत्काल व्यवस्थापन गर्न आग्रह गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले हस्ताक्षर गरेको सूचनाअनुसार इन्टरनेट सेवा प्रदायक, केबल टेलिभिजन तथा दूरसञ्चार कम्पनीहरूलाई तीन चरणमा काम गर्न समयसीमा तोकिएको छ।
सूचनामा भनिएको छ, प्रयोगविहीन, झुण्डिएका वा फालिएका तारहरू तीन दिनभित्र हटाइसक्नुपर्नेछ। त्यस्तै, हाल सञ्चालनमा रहेका तारहरूलाई व्यवस्थित रूपमा बन्डलिङ गरी कुन कम्पनीको हो भन्ने स्पष्ट हुने गरी ट्याग लगाउन १५ दिनको समय दिइएको छ।
नगरपालिकाले तार व्यवस्थापनका क्रममा नेपाल विद्युत प्राधिकरण र नगरपालिकाको प्राविधिक टोलीसँग समन्वय गर्नुपर्ने र ट्राफिक व्यवस्थापनमा अवरोध हुन नदिने स्पष्ट पारेको छ।
तोकिएको समयसीमा पालना नगरे नगरपालिकाले आफैं तार हटाउने चेतावनी दिँदै त्यस क्रममा सेवा अवरुद्ध भएमा सम्बन्धित कम्पनी नै जिम्मेवार हुने र खर्च समेत सोही कम्पनीबाट असुल गरिने सूचनामा उल्लेख छ।
साथै, नगरभित्र सेवा दिइरहेका सम्पूर्ण सेवा प्रदायकहरूलाई नगरपालिकाको सूचना प्रविधि तथा तथ्याङ्क शाखामा अनिवार्य दर्ता हुन निर्देशन दिइएको छ।
“सुन्दरहरैंचाको पहिचान: समृद्धि र सुशासन” भन्ने नारासहित नगरलाई सुरक्षित, व्यवस्थित र सफा बनाउने उद्देश्यले अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ।




















