मुम्बई—बलिउडका लोकप्रिय अभिनेता गोविन्दको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ।
उनका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले बीबीसी न्यूज हिन्दीसँग कुरा गर्दै गोविन्दलाई मंगलबार राति अस्पताल भर्ना गरिएको पुष्टि गरेका छन्।
ललितका अनुसार मंगलबार साँझ करिब ८:३० बजे घरमै बेहोस भएपछि सुरुमा डाक्टरको सल्लाहअनुसार औषधि दिइएको थियो। तर अवस्था बिग्रँदै गएपछि बुधबार बिहान १ बजे उनलाई तुरुन्तै जुहूस्थित क्रिटिकल केयर अस्पताल लगिएको थियो।
उनले बताएअनुसार अहिले गोविन्दको अवस्था स्थिर छ र सबै आवश्यक परीक्षणहरू भइरहेको छ। डाक्टरहरूले उनलाई चिकित्सा निगरानीमा राखेका छन्।
गत वर्ष पनि गोविन्द खुट्टामा गोली लागेर यही अस्पतालमा भर्ना भएका थिए।
अस्पतालका डा. दीपक नामजोशीले गोविन्दको स्वास्थ्य अवस्था स्थिर रहेको र अहिले उनी आफ्नै कोठामा आराम गरिरहेको बताए। उनले भने, “चिन्ता लिनुपर्ने कुनै कारण छैन, परीक्षणका नतिजा आउँदै छन्।”
हिजो राति गोविन्दले गम्भीर अवस्थामा रहेका अभिनेता धर्मेन्द्रलाई हेर्न ब्रीच क्यान्डी अस्पतालसम्म गाडी आफैं चलाएर पुगेका थिए।
उनका सचिव शशि सिन्हाका अनुसार मंगलबार दिनभरि उनलाई असहज र चक्कर लाग्ने समस्या भएको थियो, जसपछि डाक्टरको सल्लाहमा राति अस्पताल भर्ना गरिएको हो। एजेन्सी



















