काठमाडौँ — राजनीतिमा स्थायी मित्रता र शत्रु हुँदैन भन्ने मान्यता पुनः पुष्टि गर्ने प्रकारका अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक भएका छन्। पार्टीबाट निष्कासित भएपछि सत्रुतापूर्ण सम्बन्ध कायम हुँदै आएको दुर्गा प्रसाईंमाथि सरकारले गरेको मध्यरातको गिरफ्तारीको उनले बुधबार खुला रूपमा विरोध गरेका छन्।
सरकारले सोमबार मध्यरात भक्तपुरस्थित निवासबाट प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्ध काम गरेको आरोपमा पक्राउ गरेको थियो। दिनमै उनले जेन–जेड आन्दोलन र सरकारविरुद्धका विषयमा भिडियो जारी गरेपछि रातारात पक्राउ परेका थिए।
ओलीले भने, “बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले पनि भनिसकेको छ— बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन।” उनले सरकारलाई प्रसाईंको भिडियोको राजनीतिक प्रतिवाद गर्न नसकेर दमनमा उत्रिएको आरोप लगाए।
ओलीको यो अभिव्यक्ति मित्रताका कारण नभई सुशीला कार्की नेतृत्वको सरकारमाथि प्रहार स्वरूप आएको राजनीतिक विश्लेषकहरूले बताइरहेका छन्। अहिले उनले प्रसाईंलाई रिहा गर्न माग गरे पनि विगतमा आफ्नै कार्यकालमा प्रसाईंलाई पटक–पटक पक्राउ गरी थुनामा राखिएको इतिहास छ।
प्रसाईंसँग ओलीको सम्बन्ध विगतमा निकै नजिक थियो— “हजुरबुबा–नाति” को उपमा चल्ने गरी। प्रसाईंको घर–परिवारमा बस्दै, ओछ्यानसम्म पहुँच दिने तहको सम्बन्ध कुनै समय रहेको भए पनि त्यो नजिकोपन दिगो टिकेन र दुवैबीचको दूरी पछि सत्रुतामा परिणत भयो।
बुधबार आयोजित उपत्यकास्तरीय पार्टी कार्यकर्ता भेलामा ओलीले सिमरा घट्नाको उदाहरण पनि दिएका थिए। उनले राजनीतिक दलहरूलाई सुरक्षित रूपमा हिँडडुल गर्न नसक्ने सरकारले चुनावमा सुरक्षा दिन सक्ने दाबी गर्नुको औचित्यमाथि प्रश्न उठाए।
ओलीको पछिल्ला अभिव्यक्तिलाई वर्तमान सत्ता गठबन्धनविरुद्धको रणनीतिक राजनीतिक आक्रमणका रूपमा पनि हेरिएको छ।



















