काठमाडौं—नेकपा (एमाले) को ११औँ महाधिवेशनमा पदाधिकारी चयनलाई लिएर आन्तरिक क्याल्कुलेसन तीव्र बन्दै गएको बेला अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल बीच स्पष्ट नदेखिएका सात पदाधिकारी तहका नेताले सामूहिक निर्णय सार्वजनिक गरेका छन्।

ओली र पोखरेल दुवै पक्षसँग नियमित रूपमा छलफल गर्दै आएका उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले अन्ततः ओलीलाई समर्थन गर्ने निर्णय लिएका छन्।

यी नेताहरूले शुक्रबार बसेको आन्तरिक बैठकमा देशको विद्यमान राजनीतिक जटिलता, पार्टी एकताको आवश्यकता र महाधिवेशनबाट सुदृढ नेतृत्व चयन गर्नुपर्ने आवश्यकताका आधारमा यस्तो निष्कर्ष निकालेका हुन्।

छलफलमा सहभागी एक नेताका अनुसार, उनीहरूले दुवै पक्षलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न, कटु अभिव्यक्ति रोक्न र सहमतिको वातावरण कायम राख्न आग्रह गरेका छन्।

नेताहरूले ११औँ महाधिवेशनबाट अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रलाई सही दिशानिर्देशन गर्न सक्ने सक्षम केन्द्रीय कमिटी निर्माणमा योगदान गर्ने स्पष्ट संकेत समेत दिएका छन्।

साथै, पार्टीमा अझै पनि सहमतिकै आधारमा नेतृत्व निर्माण सम्भव र आवश्यक रहेको मत राख्दै ती नेताहरूले महाधिवेशनलाई सफल बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।