भोजपुर—एमाले नेता तथा पूर्व पर्यटनमन्त्री कृपाशुर शेर्पाले आफूविरुद्ध सुरु गरिएको कारबाहीको चर्चा "मनगढन्ते" रहेको प्रतिक्रिया दिएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले झन्डै ४८ वर्षदेखि पार्टीप्रति इमान, निष्ठा र दृढता बिना कुनै विचलन उभिँदै आएको स्पष्ट गरेका छन्।

मोरङको अधिवेशनमा संस्थापन समूह निकट प्यानल विजयी बनेपछि शेर्पाले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर भोजपुर जिल्ला कमिटीले उनलाई निलम्बन गरेको बताइएको छ।

शेर्पाले स्टाटसकै आधारमा कारबाही गरिएको दाबीप्रति प्रश्न उठाउँदै भनेका छन्,

“कुन शब्द, वाक्य वा आशयले पार्टीलाई असर गर्छ? आन्तरिक प्रतिस्पर्धाबारे टिप्पणीले पार्टीलाई असर गर्दैन भन्नेमा आज पनि म दृढ छु।”

उनका अनुसार निलम्बनबारे सोध्दा पार्टी नेतृत्व र जिल्ला कमिटीले स्पष्ट जानकारी नदिएको र आफूले निरिहता देखेको महसुस भएको छ। साथै उनले कोशी प्रदेश इन्चार्ज शेरधन राईले व्यक्तिगत प्रतिशोधसहित कारबाही अघि बढाएको आरोप लगाएका छन्।

विज्ञप्तिमा शेर्पाले लेखेका छन्,

“केवल व्यक्तिगत आग्रहका आधारमा गैरराजनीतिक तरिकाले प्रतिशोध राख्दै आएको इन्चार्ज कमरेड शेरधन राईकै निर्देशनमा कारबाही गरिएको जिल्ला कमिटीका नेताहरूले बताए। कसैले कारबाही गर्यो भनेर पार्टीप्रतिको मेरो निष्ठा मर्दैन, विचार बदलिंदैन।”

उमेरका कारण बयोवृद्ध समूहतिर लाग्दै गएको र व्यक्तिगत महत्वाकाङ्क्षा केही नरहेको बताउँदै उनले थपे,

“जीवनभर पार्टीकै झण्डा ओढेर बिदा हुने मेरो सपना यस्ता कारबाहीले प्रभावित हुँदैन।”

शेर्पा भोजपुरबाट संविधानसभा सदस्य बनेका थिए र पर्यटनमन्त्रीसमेत भएका थिए। गत वर्षको जिल्ला अधिवेशनमा उनी उपाध्यक्ष पदमा पराजित भएका थिए।

भोजपुरमा लामो समयदेखि पूर्वमुख्यमन्त्री शेरधन राई र शेर्पाबीच शक्ति–टसल चल्दै आएको छ। यसले संगठनमा आन्तरिक क्षति पुगेको भन्दै कार्यकर्ताहरूले दुवै पक्षलाई मिलेर जान सुझाव दिँदै आएका छन्।

कारबाही सार्वजनिक भएको भोलिपल्टै शेर्पाले गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। ओलीले उनलाई “तपाईँ नआत्तिनुस्, म छु” भनेर ढाडस दिएको बताइएको छ।