मध्य प्रदेश—भारतको मध्य प्रदेश राज्यको रिवा जिल्लामा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन् । घटनाको कारण खोज्दा पत्नीले उनलाई मोबाइलमा पब्जी गेम खेल्नबाट रोक्नु रहेको बताइएको छ । घटनापछि श्रीमान् कसैलाई जानकारी नदिई पत्नीको शव कोठामा छाडेर ढोका बन्द गरी भागेका छन् । श्रीमतीले बारम्बार दिक्क लगाएकै कारण पतिले उनको हत्या गरेका समाचारमा जनाइएको छ । 

भारतीय अनलाइन पत्रिका ललनटपमा अनुसार यो घटना रिवा जिल्लाको गुढ थाना क्षेत्रअन्तर्गत गुढवा गाउँको हो । यहाँका बासिन्दा रणजीतको विवाह नेहा पटेलसँग २०२५ मे ५ मा भएको थियो । रणजीतले लगातार दाइजोको माग गरिरहेको र नेहाका माइती पक्षले त्यो माग पूरा गर्न नसकेको बताइएको छ । यही विषयलाई लिएर रणजीत अक्सर आफ्नी पत्नी नेहासँग झगडा गर्थे । रणजीत कुनै काम पनि गर्दैनथे र मोबाइलमा पब्जी खेल्ने लतका कारण दिनभर व्यस्त रहन्थे । उनकी पत्नी नेहा यो कुराले निकै चिन्तित थिइन् । उनी रणजीतलाई कुनै कामधन्दा गर्न बारम्बार भनिरहन्थिन् । 

यही विषयलाई लिएर उनीहरूबिच प्रायः झगडा हुने गर्दथ्यो । समाचारहरूमा जनाइएअनुसार घटना भएको दिन पनि रणजीत अबेर रातिसम्म आफ्नो मोबाइलमा गेम खेलिरहेका थिए । त्यही बेला उनकी पत्नीले फेरि उनलाई गेम खेल्न छोडेर कुनै काम गर्न भनिन् । यसबाट रणजीत आक्रोशित भए र उनले गम्छा उठाएर नेहाको घाँटी निमोठेर हत्या गरेको आरोप छ ।

 हत्यापछि फरार घटनाको समयमा रणजीतका परिवारका सदस्यहरू अर्को कोठामा थिए र उनीहरूलाई यसको कुनै भेउ नै लागेन । पत्नीको हत्या गरेपछि रणजीतले कोठाको ढोका बाहिरबाट बन्द गरे र कसैलाई जानकारी नदिई त्यहाँबाट फरार भए । पछि उनले नेहाकी दिदीका पतिलाई मेसेज गरेर नेहालाई मारेको जानकारी दिएका थिए  । 

हाल रणजीत कहाँ लुकेका छन् भन्ने पत्ता लागेको छैन । प्रहरी रणजीतको खोजीमा जुटेको छ । प्रहरीले मृतक नेहाका माइती पक्षको बयान पनि लिइसकेको छ र हरेक कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।  एजेन्सी