काठमाडौँ— नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको टोलीले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा प्रत्यक्ष असर पर्ने गरी सडक बन्द गर्ने निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ।

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री कुलमान घिसिङलाई भेटेर युवासंघले थानकोट–नागढुङ्गा–मुग्लिन सडक खण्ड बन्द गर्ने निर्णयले महाधिवेशनमा आउने प्रतिनिधिहरूको आवागमन कठिन हुने बताएको छ ।

सरकारले उक्त सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म निर्माणका लागि पूर्णरूपमा बन्द रहने निर्णय गरेको छ। एमालेले मंसिर २७–२९ मा काठमाडौंमा ११औँ राष्ट्रिय महाधिवेशन गर्दैछ, जसका लागि देशभरबाट हजारौँ प्रतिनिधि राजधानी आउनुपर्नेछ।

युवासंघका अनुसार सडक अवरुद्ध हुँदा महाधिवेशन सहभागीहरूलाई काठमाडौं प्रवेशमा समस्या हुने भएकाले कालक्रम परिवर्तन वा सहजता मिलाउन आग्रह गरिएको हो।

युवासंघका अध्यक्ष क्षितिज थेवेले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै भनेका छन्, ‘हाम्रो महाधिवेशनका सहभागीलाई मंसिर २६, २७, २८ गते काठमाडौं प्रवेशमा पूर्ण रूपमा सडक सहजता अपनाइने मन्त्रीज्यूबाट जानकारी भएको छ।’