काठमाडौं—नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल करिब भरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा भइरहेको उद्घाटन समारोहको तयारी अवलोकन गर्दै उनले ठूला–ठूला र्‍यालीहरू निरन्तर रूपमा आइरहेको बताए ।

महाधिवेशन उद्घाटनस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपमहासचिव ज्ञवालीले पश्चिमतर्फबाट थप ठूला र्‍यालीहरू आउँदै रहेकाले सहभागीको संख्या अझ बढ्ने उल्लेख गरे । ‘पश्चिमपट्टिबाट ठूला र्‍यालीहरू आउँदै छन्, तर कार्यक्रमस्थल करिब भरिन लागिसकेको छ,’ उनले भने।

कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू पुगिसकेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली भने भरखरै कार्यक्रमस्थल पुगेका छन् ।

महाधिवेशन उद्घाटनस्थलमा दुवै दिशाबाट झण्डा, ब्यानर र नारासहित ठूला–ठूला र्‍यालीहरू प्रवेश गर्ने क्रम जारी छ । नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान साँघुरो बन्न थालेको छ। प्रतिनिधि तथा सहभागीहरू ठाउँ सुरक्षित गर्न कार्यक्रम सुरु हुनुअघि नै मैदानमा पुग्ने क्रम बढेको छ।

यसैबीच, उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा महाधिवेशनस्थलमा विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन भइरहेको छ । देशका विभिन्न भू–भाग र समुदायको पहिचान झल्किने झाँकीहरू मैदानमा प्रवेश गरिरहेका छन्, जसले महाधिवेशनको माहोललाई थप उत्साहपूर्ण बनाएको छ ।

महाधिवेशनको उद्घाटन कार्यक्रम केही समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यसूची रहेको छ । एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको महाधिवेशनका रूपमा लिएको छ ।