काठमाडौँ—नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडि बढाइने भएको छ।
निर्वाचन प्यानलमार्फत हुने अवस्था बनेपछि हालका उपाध्यक्ष पाण्डे महासचिवका उम्मेदवार बन्न लागेका हुन्। यस्तै, सचिवद्वय गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवका उम्मेदवार हुने तय भएको भट्टराईले जानकारी दिए।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०ः३० बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने छ।
अन्य पदाधिकारीका विषयमा समेत छलफल जारी रहेको जनाइएको छ। सचिव पदमा गोकुल बास्कोटा, विनोद ढकाल, कर्ण थापा, रचना खड्का र ठाकुर गैरेलाई उम्मेदवार बनाउने विषयमा छलफल भएको छ।
यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट पनि प्यानलसहित उम्मेदवारी आउने अवस्था हेरेर केही उम्मेदवारमा हेरफेर हुन सक्ने भट्टराईले बताए।




















