काठमाडौँ—आफूले आकांक्षा गरेको पदाधिकारी नपाएपछि चार नेताले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । ओली नेतृत्वको अघिल्लो सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटा ओलीबाट अलग भएका हुन् ।

ओली समूहबाट महासचिवमा दाबेदारी प्रस्तुत गरेका प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दर्ता नगरी घर फर्किएको एमाले नेताहरूले बताएका छन् । पदाधिकारी सूचीमा समेटिन नसकेपछि रघुजी पन्त अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका थिए । उनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

ओली समूहबाट सचिव पदमा आकांक्षा राखेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने स्वतन्त्र उम्मेदवारका रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । “अब म स्वतन्त्र उम्मेदवारको रूपमा उपमहासचिव लड्छु,” उनले बताए ।

लामो समयदेखि अध्यक्ष ओलीका निकट मानिएका कृष्णगोपाल श्रेष्ठले आफूलाई अपमान र अन्याय गरिएको भन्दै ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । यस्तै, विगतमा ओलीका निकट सहयोगी रहेका गोकुल बास्कोटाले भने यसअघि नै ओली समूह छाडिसकेका थिए । उनले पनि पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

यससँगै एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष भिडन्त हुने पक्का भएको छ ।