काठमाडौँ— मुलुक बचाउने नागरिक अभियान का प्रमुख युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिने न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै न्याय परिषद् सचिवालयमा उजुरी दर्ता गराएका छन्।
शुक्रबार दर्ता गरिएको उजुरीमा उनले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेललाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेका छन्।
उजुरीमा रवि लामिछाने न्यायाधीशसँगको ‘सेटिङ’ पछि रिहा भएको आरोप लगाइएको छ। सफलले पटक–पटक परेको पेसी स्थगित गराएर आफू अनुकूल न्यायाधीशको बेन्च परेपछि मात्र सुनुवाइ गराइएको दाबी गरेका छन्। यसलाई उनले ‘बेन्च सपिङ’ को संज्ञा दिएका छन्।
उनका अनुसार, साउन १९ गते पेस गरिएको निवेदन तीन दिनसम्म दर्ता नगरी साउन २२ गते मात्र दर्ता गरिएको थियो। उजुरीमा बाहिर चर्चा भएअनुसार निवेदन दर्ता र अनुकूल आदेश गराउन लाखौं रुपैयाँ खर्च भएको आरोप पनि उल्लेख गरिएको छ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले २०८२ पौष ०३ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको आदेश उल्टाउँदै २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो तिराएर रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
यस आदेशप्रति शंका व्यक्त गर्दै सफलले उक्त आदेश दिने न्यायाधीशद्वयलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। उजुरीमा न्यायाधीश बासुदेव आचार्य ‘पटके न्यायाधीश’ रहेको दाबी पनि गरिएको छ।




















