सुनसरी—सुनसरी—श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन्। हिजो बुटवलमा आयोजित पार्टी कार्यक्रमका क्रममा आयोजक र सहसंयोजकतर्फ लक्षित गर्दै उपाध्यक्ष परियारले गरेको व्यवहार र अभिव्यक्तिले पार्टीको आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै कारबाही गरिएको अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
साम्पाङका अनुसार श्रम संस्कृतिमा सबै बराबर हुने मूल्यमान्यताविपरीत उपाध्यक्ष परियारले कार्यक्रम आयोजकप्रति अपमानजनक व्यवहार गरेका थिए। “श्रम संस्कृतिमा कोही सानो–ठूलो हुँदैन। आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उल्लङ्घन भएको छ। नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँछु,” अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्।
घटनास्थलमा उद्घोषकले सम्बोधनका लागि आग्रह गरेपछि मञ्चमा पुगेका परियारले आयोजकको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका थिए। उनले “कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ” भन्दै “म केन्द्रीय उपाध्यक्ष हुँ, म पनि बोल्न पाउनुपर्छ” जस्ता अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई पार्टी अनुशासनविपरीत ठहर गरिएको पार्टी स्रोतले जनाएको छ।
पार्टी नेतृत्वका अनुसार यो कारबाहीले संगठनभित्र अनुशासन र आचारसंहिता पालनमा कडाइ गरिने सन्देश दिएको छ। अध्यक्ष साम्पाङले पदका आधारमा कसैलाई विशेषाधिकार नदिइने स्पष्ट पारेका छन्।
यसअघि पनि श्रम संस्कृति पार्टीले अनुशासन उल्लङ्घनका विषयमा कडा कदम चालेको थियो। विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका पार्टीका अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पनि यसअघि कारबाही गरिएको थियो।




















