काठमाडौँ— नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका केपी शर्मा ओलीलाई राष्ट्रिय युवा संघ नेपालले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा पुनः निर्वाचित भएपछि ओलीलाई राष्ट्रिय युवा संघ नेपालले गुन्डु पुगेर बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे तथा केन्द्रीय कमिटीले जारी गरेको शुभकामना सन्देशमा अध्यक्ष ओलीको अनुभवी, दृढ र दूरदर्शी नेतृत्वले पार्टी र देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यतर्फ अझ सशक्त रूपमा डोर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सन्देशमा मुलुक र जनताको हितमा स्पष्ट दृष्टिकोण, अटल देशभक्ति र स्पृहामुक्त नेतृत्व प्रदान गर्ने दूरदर्शी नेताका रूपमा अध्यक्ष ओलीको योगदानको उच्च मूल्याङ्कन गरिएको छ। साथै राष्ट्रिय युवा संघ नेपालका संस्थापक अध्यक्षका हैसियतले पार्टी, युवा आन्दोलन र राष्ट्र निर्माणमा पुर्‍याएको योगदानप्रति विशेष सम्मान प्रकट गरिएको छ।

राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष ओलीको आगामी कार्यकाल सफल हुने कामना गर्दै पार्टीलाई थप एकताबद्ध र सशक्त बनाउने विश्वाससमेत व्यक्त गरेको छ।