काठमाडौं—नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीको महाधिवेशनबाट भएका निर्णयलाई अन्तिम र सर्वमान्य नमान्ने हो भने एमाले संगठित दलको रूपमा रहन नसकी ‘बहस क्लब’मा सीमित हुने चेतावनी दिएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति संकेत गर्दै बस्नेतले राष्ट्रको अभिभावकको भूमिकामा बसेर लोकतान्त्रिक मूल्य र संस्थागत निर्णयको सम्मान गर्नु उपयुक्त हुने बताएका छन्। पार्टीलाई कमजोर बनाउने बहस र गतिविधिमा ऊर्जा खर्च नगर्न उहाँलाई आग्रह गरेका छन्।
लोकतन्त्रको जगमा उभिएर राजतन्त्र फर्काउने बहसप्रति असहमति जनाउँदै बस्नेतले यस्तो कल्पना आफ्नै राजनीतिक संघर्ष र धरातलप्रतिको अविश्वास भएको टिप्पणी गरेका छन्। विगतका बहसभन्दा वर्तमान चुनौती र भविष्यको दिशातर्फ केन्द्रित हुन एमाले नेता–कार्यकर्तालाई उहाँले आह्वान गरेका छन्।
प्रधानमन्त्रीसँग भेट गरेर पार्टीभित्रकै सहयोद्धामाथि ‘त्रिशूल छाप’ लगाउने अभ्यासप्रति पनि बस्नेतले प्रश्न उठाउँदै यसलाई प्रतिशोधमुखी राजनीतिक संस्कारको उदाहरण भएको बताएका छन्।




















