काठमाडौँ— नेकपा एमालेका नेता ईश्वर पोखरेलले महाधिवेशनपछि भएको सामान्य छलफललाई लिएर ‘आग्रहप्रेरित कटाक्ष’ नगर्न नवनिर्वाचित केन्द्रीय सदस्य प्रदीपकुमार ज्ञवालीलाई चेतावनी दिएका छन्।
महाधिवेशनमा अध्यक्ष पदमा पराजित पोखरेलले सामाजिक सञ्जालमार्फत ज्ञवालीको अभिव्यक्तिको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।
यसअघि सोमबार ज्ञवालीले महाधिवेशन सकिएलगत्तै छुट्टै भेला गर्नुले पार्टीलाई ‘अन्त्यहीन बहस क्लब’मा रूपान्तरण गर्ने भन्दै पोखरेल समूहप्रति लक्षित टिप्पणी गरेका थिए।
त्यसको प्रत्युत्तरमा पोखरेलले महाधिवेशनमा प्रतिस्पर्धी समूहमा रहेका साथीहरूबीच भएको सामान्य तथा बिदाइ छलफललाई लिएर अनावश्यक रूपमा तरंगित नहुन आग्रह गरेका छन्। “कसैप्रति आग्रहप्रेरित कटाक्ष गरिनुले पार्टी र आन्दोलनलाई नोक्सान मात्र पुर्याउँछ,” उनले लेखेका छन्, “विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुनेछैन, हुन दिइने छैन।”
पोखरेलले हरेक नेता तथा कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्ने र नेतृत्वबाट समान व्यवहारको अपेक्षा गर्ने उल्लेख गरेका छन्। त्यस्तो अपेक्षा पूरा नहुँदा असहमति वा विरोध हुनु स्वाभाविक हुने उनको भनाइ छ।
महाधिवेशनको निष्कर्ष सबैले पालना गर्नुपर्नेमा जोड दिँदै पोखरेलले पार्टी एकतालाई अझ मजबुत बनाउँदै अघि बढ्न आग्रह गरेका छन्।




















