भोपाल— भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री कैलाश जोशीका छोरा तथा पूर्व मन्त्री दीपक जोशीले महिला कांग्रेसकी पूर्व राज्य सचिव ४५ वर्षीया पल्लवी सक्सेनासँग विवाह गरेपछि उक्त विषय भारतमा चर्चामा आएको छ।

६३ वर्षीय भाजपा नेता दीपक जोशी र पल्लवी सक्सेनाको विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसँगै दुई अन्य महिलाले आफू दीपककी पहिलो श्रीमती भएको दाबी गर्दै सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।

पल्लवी सक्सेनाले एक समाचार च्यानलसँग कुरा गर्दै आफ्नो विवाह गत डिसेम्बर ४, २०२५ मा भोपालस्थित आर्य समाज मन्दिरमा सम्पन्न भएको जानकारी दिएकी छन्। विवाहअघि हल्दी, मेहन्दी लगायतका पारिवारिक अनुष्ठानहरू आयोजना गरिएको र ती कार्यक्रममा नजिकका आफन्त तथा साथीहरूको सहभागिता रहेको उनको भनाइ छ।

उनका अनुसार दीपक जोशीका परिवारका ज्येष्ठ सदस्यहरूले औपचारिक रूपमा उनको घरमा विवाह प्रस्ताव ल्याएका थिए र आफ्ना पिता गुलाबचन्द तमोट (पूर्व पीएस) को सहमतिमा विवाह तय भएको हो।

यसबीच, शिखा मित्रा र नम्रता जोशी नामक दुई महिलाले आफू दीपक जोशीकी श्रीमती भएको दाबी गरेपछि विवाद थप चर्किएको छ। ती दाबीहरूलाई पल्लवीले विरोधाभासी र तथ्यहीन भन्दै अस्वीकार गरेकी छन्।

पल्लवीका अनुसार शिखा मित्राले सन् २०१६ मा गरेको दाबी वास्तविकतासँग मेल खाँदैन, किनकि दीपक जोशीकी पहिलो श्रीमती विजयाको सन् २०२१ मा निधन भइसकेको थियो। साथै, शिखाका पति गौतम मित्र सन् २०१८–१९ मा उनीसँगै रहेको बताइएको छ।

नम्रता जोशीसँग सम्बन्धित मुद्दा अझै अदालतमा विचाराधीन रहेको र उनी हाल फरार अवस्थामा रहेको पल्लवीको दाबी छ। नम्रताविरुद्ध सूचना प्रविधि (आईटी) ऐन अन्तर्गत वारेन्ट जारी भएको तथा अश्लील सामग्री र तस्बिर प्रसारणको आरोपमा प्रहरीको साइबर सेल र अपराध शाखामा उजुरी दर्ता गरिएको उनले जानकारी दिएकी छन्।

पल्लवी सक्सेनाले आफ्नो विवाहलाई केवल औपचारिक सम्बन्ध नभई मानसिक र भावनात्मक सहयोगमा आधारित जीवनसाथीको सम्बन्ध भएको बताएकी छन्। उनी विगत १७ वर्षदेखि सम्बन्ध विच्छेदको प्रक्रिया, पक्षाघातको आक्रमण तथा डिप्रेसनजस्ता स्वास्थ्य समस्यासँग जुध्दै आएको र त्यही कठिन समयमा दीपक जोशीले आफूलाई निरन्तर साथ दिएको उनको भनाइ छ।

नयाँ सम्बन्धलाई दुवै पक्षका सन्तानहरूले पनि स्वीकार गरेका छन्। पल्लवीका छोरा साहिबले दीपक जोशीलाई आफ्नो बुबाका रूपमा स्वीकार गरेका छन् भने दीपकका छोराहरूले पल्लवीलाई आमाको रूपमा आत्मसात गर्दै नयाँ पारिवारिक सम्बन्धलाई स्वीकार गरेका छन्। एजेन्सी